उच्चस्तरीय समितिबाट असन्तुष्टसँग वार्ता सुरु

काठमाण्डु टुडे २०७० साउन २२ गते १:४९ मा प्रकाशित

काठमाडौँ, २२ साउन । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत दलसँग आजबाट वार्ता थालेको छ ।
समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीचको वार्ता अहिले जारी छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी वार्तामा असन्तुष्ट पक्षका मागबारे छलफल भइरहेको बताइएको छ । यादव नेतृत्वको मोर्चासँगको वार्तालगत्तै अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र मोहन वैद्य माओवादी नेतृत्वको २५ दलीय मोर्चासँग वार्ता गर्ने तयारी भएको छ ।
यसअघि हिजो बसेको समिति बैठकले निर्वाचनको वातावरण बनाउन असन्तुष्टसँग वार्तामा बस्ने निर्णय गरेको थियो । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल गर्दै तेस्रोपल्ट पत्र पठाएलगत्तै असन्तुष्ट दलहरु वार्ताका लागि तयार भएका हुन् । असन्तुष्ट पक्षले वर्तमान सरकार गठनअघि दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश तथा सरकार र उच्चस्तरीय राजनीतिक समिति खारेज गरी दलीय नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
तर उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलले भने बाधाअड्काउ अध्यादेश खारेज र सरकार विघटनबाहेक अन्य मागमा लचकता अपनाउन तयार रहेको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us