शिक्षक आन्दोलनबाट तेह्र लाख विद्यार्थी मर्कामा

काठमाण्डु टुडे २०७० भदौ ४ गते १७:५८ मा प्रकाशित

मेक्सिको सिटी, ४ भदौ – मेक्सिकोमा शिक्षक आन्दोलनका कारण मङ्गलबार कम्तीमा पनि १३ लाख विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्। मोक्सिको सरकारले हालैमात्र शिक्षकको मूल्याङ्कनका बारेमा निर्माण गर्न लागेको कानुनको विरोधमा उनीहरुले मङ्गलबार विद्यालय बन्दको आह्वान गरेका हुन्।

सरकारद्वारा हालैमात्र प्रस्तावित सो कानुनमा शिक्षकको भर्ना र बर्खास्तगी सरकारले चाहेको बेलामा गर्नसक्ने गरी बनाइएको छ । यो कानुनको शिक्षकहरुले विगत लामो समयदेखि नै विरोध गर्दै आएका हुन् । तर लामो समयदेखि काम गरिरहेका शिक्षकका लागि सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने र जुन बेला चाह्यो सो समयमा शिक्षकलाई बर्खास्त गर्न नपाइने भनी उनीहरु आन्दोलनमा उत्रिएका छन् । उक्त प्रस्ताव मेक्सिकोको संसदमा गत डिसेम्बर महिनामा गरिएको हो। सो कानुन पारित भने भएको छैन। सो प्रस्तावित कानुन पारित गर्न नहुने भन्दै यो आन्दोलन गरिएको हो।

प्राप्त समाचारमा विशेषगरी मेक्सिकोको दक्षिणी भागका शिक्षकहरुले विद्यालय पूर्ण रुपमा बन्द गराएका हुन्। लामो विदापछि आज पहिलो दिन विद्यालय पुगेका विद्यार्थीहरुले आफ्नो विद्यालयमा शिक्षकहरु नै नजाने भन्ने सूचना पाएपछि घरैमा बसेका छन्। त्यहाँका करिब ७० हजार शिक्षकले सो आन्दोलन गरेका हुन् । यसका कारण कम्तीमा पनि १३ लाख विद्यार्थीलाई यो मर्का परेको छ । त्यहाँको सरकारले शिक्षा सुधार कार्यक्रमअन्तर्गत यो कानुन प्रस्ताव गरेको हो । तर शिक्षकको यो आन्दोलनले भने त्यो कानुन पारित हुन नदिने सङ्केत गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us