अफगानिस्तान र पाकिस्तानमा बाढीले ८० को मृत्यु

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:३२ मा प्रकाशित

काठमाडौँ, २१ साउन । पूर्वी अफगानिस्तान पाकिस्तानको सीमावर्ती क्षेत्रमा आएको बाढीका कारण कम्तिमा ८० जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै आएको बाढीमा सयौं मानिस हराई रहेका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अफानिस्तानको राजधानी काबुलनजिकै सरोबी जिल्लामा बाढीका कारण ३४ जनाको मृत्यु भएको छ । यस्तै पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँची र आसपास क्षेत्रमा पछिल्लो तीन दिनयता जारी भारी वर्षाका कारण आएको बाढीमा डुबेर ४५ जनाको मृत्यु भइसकेको छ ।
पूर्वी अफगानिस्तानमा हजारौँ मानिस बाढीका कारण विस्थापित भएका छन् । यस्तै बाढीले हजारौं हेक्टर जमिनमा लगाइएको अन्नबाली नष्ट भएको छ । बाढीका कारण करोडौंको भौतिक संरचना नष्ट भएको अनुमान गरिएको छ । यद्यपि, क्षतिको यकिन विवरण आउन भने बाँकी छ । अफागानिस्तानका अधिकारीहरुले बाढी प्रभावित क्षेत्रमा आपतकालीन उद्धारकार्य जारी राखिएको बताएका छन् ।
पाकिस्तानको आपत व्यवस्थापन विभागले बाढीले बिजुलीका पोलहरू ढालेसँगै करेण्ट प्रवाह भएर कयौं मानिस डढेर मरेका छन् । दुवै देशका बाढी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली,  टेलिफोन र यातायात सेवा अवरुद्ध भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us