मुकुल ढकाल अझै रास्वपा महामन्त्रीः निर्वाचन आयोग

काठमाण्डु टुडे २०८२ असार ६ गते १८:०५ मा प्रकाशित

काठमाण्डू ६ असार– निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो । निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन् ।

२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो । त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए । त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए ।

त्यहीदिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष अनि तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखबाट देखिन्छ । ‘त्यसयता राष्ट्रिय स्वतन्त्र पार्टीका कुनैपनि विवरण अद्यावधिक भएको छैन,’ निर्वाचन आयोग सम्बद्ध स्रोतले भन्यो, ‘अहिले पनि पार्टीको महामन्त्रीमा डा। मुकुल ढकालको नाम छ, त्यही विवरण नै आधिकारिक हो ।’

निर्वाचन आयोगको यो पत्रले मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको मान्यता दिएको देखिन्छ । रास्वपाले उनलाई कारबाही गरी दलबाट निष्कासित गरेको भएपनि आयोगले भने कारबाही सहितको त्यो विवरण आफ्नो अभिलेखमा राखेको छैन । यतिसम्म कि, सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारी त्यागेको भएपनि त्यो विवरण समेत आयोगमा पुगेर अद्यावधिक हुन सकेको छैन ।

निर्वाचन आयोग उच्च स्रोतले आयोगमा सरसल्लाह भएरै पत्र जारी भएको पुष्टि गर्‍यो । ‘मुकुल ढकालले सूचना माग गर्नुभएको रहेछ, त्यसबमोजिम आयोगबाट सूचना प्रदान गरिएको हो,’ आयोग स्रोतले भन्यो, ‘पुरानै विवरण अनुसार पत्र पठाइएको हो । पत्राचारका क्रममा आयोगको कुनै नयाँ निर्णय छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us