
काठमाण्डु, २९ साउन । नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ ।
श्रीलंकाको २३ वर्ष मुनिको टोलीसँग लगातार ४ खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार श्रीलंकाको नर्थ ईष्ट प्रान्तको स्थानीय क्रिकेट टिमलाई १ सय ६८ रनको विशाल अन्तरले हराएको हो ।
जितका लागि २ सय ७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाली टोलीलाई नेपाली बलरले कसिलो बलिङ गर्दै २७ औं ओभरमा १ सय ५ रनमा अल आउट गरे ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन जोडेको थियो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६४ रनको योगदान दिए ।
यस्तै कप्तान पारस खड्का ३८, विनोद भण्डारी ३०, सुवास खकुरेल २६, सरद भेषवाकर २०, ज्ञानेन्द्र मल्ल १९, सागर पुन १० र शक्ति गौचन ४ रनमा अलआउट भए । २५ रन जोडेका राहुल विक र ११ रन जोडेका वसन्त रेग्मी नट आउट रहे ।