कोइरालाले दिल्लीमा भेटवार्ता थाल्दै

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:२४ मा प्रकाशित

काठमाडौँ, २१ साउन । साताव्यापी भारत भ्रमणमा रहेका काँग्रेस सभापति सुशील कोइरालाले आजबाट उच्चस्तरीय राजनीतिक भेटवार्ता थाल्दै हुनुहुन्छ ।
महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथ हिजो दिल्ली पुगेका कोइरालाले आज प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट साँझ ५ बजे नयाँदल्लीमा हुने बताइएको छ । कोइरालाले त्यसअघि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेशसचिव सुजाता सिंहसँग आफू बसेको होटल कनटप्यालेसमा भेट्ने कार्यक्रम छ ।
ती सबै भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र आसन्न संविधानसभा निर्वाचनलगायत विषयमा छलफल हुने काँग्रसले जनाएको छ । कोइरालाले भोलि सत्तारुढ कँग्रेस आई अध्यक्ष सोनियाँ गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सभामा विपक्षी दलकी नेतृ शुष्मा स्वाँराज, नेपाल सोलिडारिटी कमिटीका अध्यक्ष शरद यादवलगायतसँग भेट्ने कार्यक्रम छ ।
कोइरालाले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव र बिहारका मुख्यमन्त्री नीतिशकुमारसँग समेत भेट्नुहुनेछ । सभापति कोइरालाले बाँकेको सीमावर्ती क्षेत्रको भ्रमणमा लक्ष्मणपुर बाँधका कारण नेपाली भूमि डुबानमा पर्नुको कारणबारे भारतीय पक्षसँग कुरा गर्ने यसअघि नै बताइसक्नुभएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us