वार्ताको एजेण्डा तय गर्न वैद्य मोर्चाको बैठक बस्दै

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:२१ मा प्रकाशित

काठमाडौँ, २१ साउन । सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको एजेण्डा तय गर्न नेकपा–माओवादी नेतृत्वको मोर्चाको बैठक आज बस्दै छ ।
उच्चस्तरीय समितिले वार्तामा आउन अपिल गर्दै तेस्रोपल्ट पत्र पठाएलगत्तै मोर्चा वार्ताको एजेण्डा तय गर्ने गृहकार्यमा जुटेको हो । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल गर्दै हिजो पठाएको पत्रलाई सकारात्मक भनेको मोर्चाले आफू वार्ताका लागि तयार रहेको बताएको छ । दिउँसो बस्ने बैठकको समय भने तय भइनसेकको नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभयो ।
वार्तामा मोर्चाका तर्फबाट अघि सार्ने एजेण्डा र अपनाउन सकिने लचकताबारे बैठकमा छलफल हुने गुरुङले जानकारी दिनुभयो ।  बैठकले मोर्चा आवद्ध सबै दलको प्रतिनिधित्व हुने गरी वार्ता समितिसमेत गठन गर्ने बताइएको छ । मोर्चाले वर्तमान सरकार गठनअघि दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश, सरकार र उच्चस्तरीय राजनीतिक समिति खारेज, दलीय नेतृत्वमा नयाँ सरकार गठन र गोलमेच सम्मेलनलगायत माग राख्दै आएको छ ।
यसअघि दुईपटकसम्म पठाइएको पत्रमा भाषाको व्यहोरा नमिलेको र सर्त राखिएको भन्दै मोर्चाले वार्ता अस्वीकार गरेको थियो । पछिल्लो पत्रमा असन्तुष्ट पक्षलाई समसामयिक राजनीतिक समस्याबारे छलफल गर्न वार्तामा आउन भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us