काठमाण्डु २५ साउन : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजस्व प्रशासनका कर्मचारीलाई राजस्व नीति सिरानीमा राखेर आफैभित्रबाट सदाचार उत्पन्न गरी छवि सुधार्न निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका कर कार्यालयमा काम गरिरहेका कर प्रशासकहरुका लागि गरेको तीनदिन व्यवस्थापन कार्यशालाको शुक्रवार काठमाडौमा उद्घाटन गर्दै मन्त्री कोइरालाले मन्त्री, सचिव, महानिर्देशकको निर्देशनबाट हैन, आफैभित्रबाट सदाचार उत्पन्न गर्न सुझाव दिएका हुन ।
मन्त्री कोइरालाले तीन किलोमिटर परैबाट निखारिने किसिमको व्यक्तित्व बनाउन कर्मचारीहरुलाई आग्रह गर्दै भने‘बजेट र राजश्व नीति सिरानीमा राखेर काम गर्नुस् ।’ वार्षिक राजश्व संकलन पूरा गर्न वर्षभरि गरिने कामको कार्ययोजना आफूलाई पेश गर्न निर्देशन दिँदै मन्त्री कोइरालाले यसैको आधारमा कर्मचारीको कार्य सम्पादन, मूल्यांकन गर्ने प्रष्ट पारेका थिए ।
‘करदाता सेवालाई थप प्रभावकारी बनाउन छुट्टै किसिमको थप प्रोत्साहनको व्यवस्था गर्न म सकारात्मक छु । कर कानुनको परिपालकलाई सम्मान र छली गर्ने विरुद्ध शून्य शहनशिलताको नीति लिइनेछ’ मन्त्री कोइरालाले भने‘सम्भावित कर संकलन तथा संकलित कर बीचको अन्तर कम गर्न राजश्वमा लुकेका र संभावित क्षेत्र पहिचान गरी करको दायरामा ल्याउनुस् । कर नबढाउने तर करको दायरा फराकिलो पार्ने बजेटको उद्देश्य यिनै कामप्रति परिलक्षित छन् ।’
कर तिरिदिएको भनेर व्यापारीहरुबाट बारम्बार आइरहने अभिव्यक्तिको प्रतिकार गर्दै अर्थ सचिव शान्तराज सुवेदीले त्यो कर व्यापारीले नभई उपभोक्ताले नै तिरेको बताए । उनले दर्ता भएका करदाताको संख्या पाँच प्रतिशतबाट बढाउने लक्ष्य बजेटले लिएको उल्लेख गर्दै त्यसका लागि थप १४ लाख करदाता दायरामा आउन आवश्यक रहेको बताए । अर्थ मन्त्रालय राजश्व महाशाखा प्रमुख राजन खनालले संसारमा मृत्यु र राजश्व अकाट्य सत्य भएको स्मरण गराउदै एक पटक आउने मृत्युभन्दा वर्षेनी तिर्नुपर्ने कर चुनौतीपूर्ण रहेको बताए । राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले कर नबुझेका कर्मचारीहरुको प्रवेशले कर संकलन प्रभावित हुने गरेको अनुभव सुनाए ।