नेपाली राष्ट्रिय टिम बहराइन प्रस्थान

काठमाण्डु टुडे २०७० साउन २० गते १५:१४ मा प्रकाशित

काठमाडौँ, २० साउन । साफ  च्यापियनसिप फुटबलको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेल खेल्न बहराइन प्रस्थान गरेको छ ।
डेढ महिनादेखि काठमाडौँमा अभ्यास गरिरहेको नेपाली टिम अइतबार त्यसतर्फ प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २५ खेलाडीमध्ये २३ खेलाडी र ४ अफिसियल त्यसतर्फ प्रस्थान गरेका छन् । इन्डोनेसियन लिग खेलिरहेका रोहित चन्द र आर्मीको सहसेनानी तालिम लिइरहेका भरत खवास भने बहराइन गएका छैनन् ।

११ दिने बहराइन बसाइका क्रममा नेपाली टिमले बहराइनको २३ वर्ष मुनिको राष्ट्रिय टिमसँग अभ्यास खेल खेल्नेछ । बहराइनमा अर्काे अभ्यास खेल खेल्ने भनिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन । त्यसपछि नेपाली टिम साउन ३० गते अभ्यासका लागि कुवेत सिटी प्रस्थान गर्नेछ । कुवेतमा पनि ११ दिनको अभ्यासपछि नेपाली टिम भदौ ११ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । भदौ १६ देखि काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसीप फुटबलमा नेपाल सम्मिलित समूह ‘ए’ मा ६ पटकको च्याम्पियन भारत, बंगलादेश र पाकिस्तान छन् ।

भ्रमणको लागि एन्फाले १६ वर्ष मुनिको राष्ट्रिय टिमका दुई खेलाडीसहित २५ सदस्यीय राष्ट्रिय टिम शनिबार घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us