
काठमाडौँ, २१ साउन । सरकारले निर्बाचन क्षेत्र निर्धारण आयोगको म्याद ७ दिन थप गरेको छ ।
काम पूरा नगरी आयोगको म्याद शनिबार सकिएपछि पुनः म्याद थप गरेको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
आयोगका प्रवक्ता टेकप्रसाद ढुंगानाले आफूहरुले १० दिन माग गरेपनि सरकारले एक हप्ता म्याद थपेको जानकारी दिनुभयो । आगामी मंसिर चार गते हुने संविधानसभा चुनावकालागि क्षेत्र निर्धारण गरी सरकारलाई सुझाव दिन सर्बोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको अध्यक्षतामा गत जेठ ३१ गते गठन भएको आयोगले औपचारिक रुपमा असार ११ गतेदेखि काम आरम्भ गरेको थियो ।
एक महिनाको समयसीमा पाएको आयोगको म्याद यसअघि १० दिन थपिएको थियो । संवैधानिक जटिलता र प्रमुख दलहरुको फरक–फरक सुझावका कारण थपिएको समयमा पनि काम पूरा गर्न नसकेको आयोगले जनाएको छ ।