रक्त क्यान्सर पीडितलाई बेल्जियम बस्ने नेपालीको सहयोग

काठमाण्डु टुडे २०७० भदौ १० गते ६:५० मा प्रकाशित

काठमाण्डु, १० भदौ – ब्लड क्यान्सर पीडित गुल्मी हस्तीचौर ६ का १५ वर्षीय किशोर रमेश घिमिरेको उपचारकोलागि बेल्जियममा रहेका गैरआवासीय नेपालीहरुले १ लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

बेल्जियममा रहेका रामप्रसाद पाण्डेसहितका ६० जना नेपालीको पहलमा संकलित सो रकम उनका भाई तुलसीराम पाण्डेले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पीडितलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्यान्सरपीडित किशोरका बुबा रामलाल घिमिरेले सहयोगीहरुको सहयोगमा छोराको खर्चिलो रोगको अहिलेसम्म उपचार गरिरहेको भन्दै भावी दिनमा थप उपचारकोलागि समेत सहयोग गर्न आह्वान गरे ।

उनले अहिलेसम्म उपचारको चार चरण सकिएको र अहिले सुधार हुँदै आएको जानकारी दिदै पाँच वर्षसम्म उपचार गर्नु पर्ने भएकोले सहयोगको अपेक्षा ब्यक्त गरे । उनले आफूहरुलाई अहिलेसम्म सहयोग गर्नेलाई धन्यबाद दिदै सहयोगको लागि राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ११५००३५२४७१० र सम्पर्कका लागि आफ्नो मोबाइल नम्बर ९८४७३५९५२७  समेत सार्वजनिक गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us