मलेसियामा दुई र इराकमा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ ९ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– मलेसिया र इराकमा भएका दुई बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ नेपाली कामदारको मृत्यु भएको छ ।
मलेसियामा ३७ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा २ नेपाली पनि परेका हुन् । पर्यटकीय नगरी गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुरतर्फ आउँदै गरेको यात्रुबस जलान गेन्तिङ चिनियाँ मन्दिर नजिकै सडकबाट ६० फिट तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

घटना गत बिहीबारको भए पनि ढिलो गरी सार्वजनिक भएको हो । दुर्घटनामा नगेन्द्र राई र प्रेमबहादुर बुढामगरको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावसले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । उनीहरुको नेपालस्थित ठेगाना खुलेको छैन ।
उता इराकको कारबलास्थित एक कन्स्ट्रक्सन कम्पनीमा स्काफोल्डिङको काम गरिरहेका बेला दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ तिप्लिङ–८ का ३९ वर्षीय शेरबहादुर तामाङ रहेको बताइएको छ । तामाङ सन् २०१० सेप्टेम्बरमा अनधिकृत बाटो हुँदै एजेन्टमार्फत काम गर्न इराक पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us