प्रचण्ड–नेपाल पक्ष, काँग्रेस र जनता समाजवादीबीच सत्ता समीकरणको सहमति, देउवा प्रधानमन्त्री

काठमाण्डु टुडे २०७७ फागुन १९ गते २१:४३ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच नयाँ सत्तासमीकरण बन्ने भएको छ ।

उच्च श्रोतका अनुसार सम्भवतः बिहीबार वा शुक्रबारसम्ममा त्रिपक्षीय सत्ता साझेदारीसम्बन्धी लिखित सम्झौतामा हस्ताक्षर हुनेछ । तीन दलबीच प्रधानमन्त्री केपी ओलीलाई अविश्वास प्रस्तावमार्फत पदमुक्त गर्ने समझदारी भएको छ ।

२३ फागुनमा संसद बैठक सुरु हुनु अगावै नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसहित अविश्वास प्रस्ताव दर्ता हुनेछ । तीन दलले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अगाडि सारेका छन् ।

सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओलीमाथि नैतिकताका आधारमा राजीनामा दिन दबाब थियो । तर, ओलीले राजीनमा नदिने, बरु संसद फेस गर्ने अडान लिएका छन् । संसदको सामना गर्ने तयारी स्वरुप यसबीचमा ओलीले देव गुरुङलाई हटाएर आफू पक्षधर खोटाङका सांसद विशाल भट्टराईलाई नेकपा संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुर्नस्थापना भएलगत्तै नेकपाको दुवै समूहले देउवालाई प्रधानमन्त्री अफर गरेको थियो ।

तर, पार्टीमा निर्णय गरेर जवाफ दिने भन्दै देउवाले कुनै पनि पक्षलाई बचन दिएका थिएनन् । ओलीले असंवैधानिक रुपमा जनप्रतिनिधिमुलक संस्था विघटन गरेकाले उनीसँग सहकार्य गर्न नहुनेमा पार्टीभित्र दबाब परेपछि देउवा प्रचण्ड–नेपालको समर्थनमा प्रधानमन्त्री बन्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us