ओली कम्युनिष्ट र राष्ट्रवादी दुवै होइनन्ः ज्ञवाली

काठमाण्डु टुडे २०७७ माघ १० गते १५:१९ मा प्रकाशित

बुटवल, १० माघ– नेकपा प्रचण्ड–नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको बताएका छन् ।

ज्ञवालीले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै अदालतले संविधानको भावना र मर्म हेरेर फैसला गर्नुपर्नेमा जोड दिए ।

‘अदालतले संविधानमा लेखिएका कुराको मात्रै व्याख्या र फैसला गर्ने हो, संशोधन गर्ने होइन’, ज्ञवालीले भने, ‘संविधान संशोधन संसदले मात्र गर्न सक्छ, अदालतले संविधानले के भन्छ त्यो हेरेर मात्र फैसला गर्ने हो ।’

ओलीलाई सन्काहाको संज्ञा दिँदै अदालतले सन्काहा व्यक्तिको निर्णय सदर गर्दा आफ्नो विश्वसनीयता स्खलित हुनेबारे सचेत रहन सुझाव दिए । ओलीलाई ओलीले कम्युनिस्टको खोल ओढेर राष्ट्रघाती र प्रतिगामी काम गरेको भन्दै उनले ओलीबाट गणतन्त्र, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनमाथि एकैसाथ प्रहार गरेको टिप्पणी गरे ।

ओलीको कदम तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझीको भन्दा बढी प्रतिगामी र जनघाती रहेको आरोप ज्ञवालीले लगाए ।

ओली कहिल्यै कम्युनिष्ट र राष्ट्रवादी नरहेको भन्दै उनले गणतन्त्र सिध्याउने ओलीका सबै प्रयास असफल पारिने दाबी गरे । विदेशीलाई गाली गरेकै आधारमा कोही राष्ट्रवादी हुन नसक्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us