ओलीले मलाई ५० वर्षसम्म दुःख दिए, प्रचण्डलाई अपमान गरे

काठमाण्डु टुडे २०७७ माघ ९ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, ९ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफूलाई ५० वर्षसम्म दुःख दिएको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा नेता नेपालले ओलीबाट हैरान भएको उल्लेख गरे । ओलीलाई धेरैपटक थपथपाएको भन्दै नेपालले ओली प्रशंसाको भोको तर, आलोचना सहने चरित्र नरहेको आरोप लगाए । केपी ओलीबाट मैले ५० वर्षसम्म दुःख पाएँ’ नेपालले भने, ‘प्रचण्डजीले पनि धेरै हैरानी पाउनुभयो ।’ प्रचण्डले मिलेरै जान र सम्झाउन धेरै कोसिस गरेको भन्दै नेपाले ओलीबाट प्रचण्डले पनि धेरै अपमान र दुःख पाएको बताए ।

पार्टी एकता गर्दा प्रचण्ड र ओली दुवै अध्यक्षको समान हैसियत हुने निर्णय भए पनि ओलीले प्रचण्डलाई दोश्रो अध्यक्ष र उपाध्यक्ष भनेर अपमान गरेको चर्चा गरे । ओलीलाई गणतन्त्र र परिवर्तनप्रति माया नभएको आरोप नेपालले लगाए ।
अध्यक्ष नेपालले कोरोनाबाट आहत भएका जनताको राहत, बलात्कार पीडित महिलालाई न्याय, बेरोजगार युवालाई रोजगारी र विदेशमा रहेका नेपालीका दुःखबारे छलफल गर्न खोज्दै बैठकमै नआएको बताए । ‘हामी बालुवाटारमा कुरेर बसेका छौं, ओलीलाई कु-यौं, कु-यौं, अन्तिममा बैठक नबस्ने आदेश’, नेपालले भने ।

उनले ओलीले आरोप लगाएजस्तो नेताहरुले कुर्सीको तानातान र पदको झगडा नगरेको र काम गर्न नदिएको भन्ने आरोप लगत रहेको उल्लेख गरे । ओलीलाई राम्रो काम गरौं भन्दा अरिंगालको गोलोको मात्र मन परेको टिप्पणी गरे । ‘उहाँलाई राम्रो कुरा होइन, अरिंगालहरुको गोलो मन पर्छ, हामी त्यो प्रवृत्तिविरुद्ध लडिरहेका छौं’, नेपालले भने, ‘अरिंगालको गोलो र साइबर सेनाले विशाल जनताको सामना गर्न सक्दैन ।’ नेपालले आफूहरुको विरोधसभामा भएको जनताको उपस्थतिले ०६२/०६३ को जनआन्दोलनको झल्को आएको र यो कास्टिङमात्रै भएको दाबी गरे । ‘यो त कास्टि मात्र हो, पूरा फिल्म हेर्न बाँकी छ’, उनले भने ।

ओलीलाई पार्टी अध्यक्षबाट हटाइएको र साधारण सदस्यसमेत रहने हैसियत नभएकाले लिखित स्पष्टीकरण सोधेको उनले बताए । तर, ओलीले अझै स्पष्टीकरण नदिएको उनको भनाइ थियो । ओलीले गल्ती महसुस गर्र्दै आफू सुध्रिएको र प्रतिनिधिसभा पुर्नस्थापना गर्ने पत्र पठाउँछन् कि भन्ने लागेको भए पनि अझै त्यसो नगरेको उनको भनाइ थियो ।

‘मान्छेले गल्ती गर्छन, अपराध गर्छन । अनि समयमा सच्चिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौला केही फरक पर्दैन । नभए सुरुमै माफी दिर्आैंला केही फरक पर्दैन’, उनले भने । उनले मुलुकको संविधान, गणतन्त्र र पार्टी नै सिध्याउने खोज्ने ओलीसँग आफूहरु नझुक्ने चेतावनी दिए । ओलीले प्रधानमन्त्रीका रुपमा भ्रष्टाचार संरक्षण गरेको, प्रतिपक्षी दलसँग राम्रो सम्बन्ध नराखेको, विदेशीसँग असन्तुलित कूटनीतिक सम्बन्ध राखेको तथा आफ्नै पार्टी र संसदीय दलको अवमूल्यन गरेको आरोप नेपालले लगाए ।

ओलीले संवैधानिक ‘कू’ गरेको र सर्वोच्च अदालतले त्यसलाई पुर्नस्थापनामार्फत सच्याउने विश्वास उनको छ । संसारमा तानाशाहहरुको जन्म निर्वाचनबाटै भएको भन्दै उनले कुख्यात तानाशाह हिटलरसँग ओलीको तुलना गरे । ओलीमा हिटलरकै जस्तो नाजीवादी चरित्र हाबी रहेको आरोप उनको छ । ‘हिटलर पनि चुनावबाटै आएका थिए । पछि दुई करोड मानिस मारे’, उनले भने, ‘केपी ओली पनि हिटलरकै बाटोमा हिंड्ने हिटलरी नाजीवादका नेपाली संस्कारण हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us