भारतसँग सीमा जोडिएको झुलाघाट नाका ५ दिनका लागि खोलिने

काठमाण्डु टुडे २०७७ मंसिर ७ गते ६:४५ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ ।

मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको उनले बताए ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् । ५ दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो । नाकामा पेन्सनधारीहरुले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने पनि सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।  राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us