गोर्खा सैनिकलाई मिलिटरी क्रस

काठमाण्डु टुडे २०७० असोज १९ गते २:३२ मा प्रकाशित

अफगानिस्तानमा युद्धका बेला अभूतपूर्व बहादुरी देखाएको भनि ब्रिटिश सेनामा कार्यरत एकजना गोर्खा सैनिक तुलजँग गुरुङलाई बेलायत सरकारले मिलिटरी क्रस तक्मा प्रदान गरेको छ।

रोयल गोर्खा राइफल्समा कार्यरत अठ्ठाइस वर्षीयकार्यवाहक लान्स कर्पोरल गुरुङले झण्डै ६ महिना अघि अफगानिस्तानको लस्करगाह नजीकै एउटा चौकीमा ड्युटी गरिरहेका बेला विद्रोहीहरुले हमला गरेका थिए।

विद्रोहीहरुको गोली हेल्मेटमा लागेका गुरुङ उनीहरुले प्रहार गरेको ग्रिनेडबाट बाँच्न सफल भएका थिए।

विद्रोही

त्यसपछि उनले आफुतर्फ आइरहेको एकजना बन्दूकधारी तालीबान विद्रोहीलाई खुकुरी प्रहार गरी धपाइदिएका थिए।

उनले भीडन्तका क्रममा साथीहरुले सुनेर आफ्नो मदतमा आउन् भनेर आफुले निकै ठूलो स्वरमा कराएको पनि बताए।

“म त बौलाहा जस्तै भएँ। म मर्न चाहन्नँ। उसले केही गर्नुभन्दा पहिले मैले नै केही गर्नुपर्छ भन्ने मैले सोचें,” गुरुङले भने।

तर प्रेस एसोसियसन समाचारसंस्था सँग कुरा गर्दै उनले आफुले तक्मा पाउने कहिल्यै अपेक्षा नगरेको पनि बताए।

सम्मान

राइफलम्यान बिकास गुरुङ तथा कार्यवाहक सर्जेन्ट गोविन्द गुरुङको नाम पनि सैनिक सम्मान सूचीमा रहेको छ।

सम्मानित सैनिकहरुको नाम सार्वजनिक गर्दै ब्रिटेनको स्थल सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल सर एड्रियन ब्राडशाले भने, “हाम्रा सैनिकहरुको उपलब्धिको म सम्मान गर्दछु। उनीहरुको साहस र व्यावसायिकता छक्कै पार्ने खालको छ।”

ब्रिटिश सेनामा कार्यरत सैयौं गोर्खा सैनिकहरु अहिले पनि अफगानिस्तानमा तैनाथ छन्।

गएको झण्डै दुई सय वर्ष देखि गोर्खालीहरु ब्रिटिश सेनामा भर्ती हुँदै आएका छन्। source BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us