
काठमाण्डू, २४ वैशाख– अनलाइन स्क्यामिङमा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी स्वदेश फिर्ता गरीएको छ । नेपाली राजदूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा ती नागरिकहरूको उद्धार गरेको हो ।
उद्धार गरिएका मध्ये एक जना महिला र ११ जना पुरुष रहेका राजदूतावासले जनाएको छ । उनीहरूलाई म्यानमारको मेवाडीबाट थाइल्याण्डको टाक इमिग्रेशन अफिस हुँदै बैंकक ल्याइ आज नेपाल पठाइएको हो ।
हालका वर्षहरूमा दक्षिणपूर्वी एसियाका विभिन्न देशहरू— विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड—मार्फत नेपाली नागरिकहरू अनलाइन ठगी कार्यमा जबरजस्ती संलग्न गराउने गिरोह सक्रिय रहेका छन ।
राजदूतावासले सबै नेपालीलाई नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । छिटो र धेरै पैसा कमाउने लोभमा परी अवैधानिक रूपमा वैदेशिक रोजगारमा जान नहुने चेतावनी दिंदै राजदूतावासले आमसञ्चार माध्यम र नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गर्न सहयोग गर्न अनुरोध समेत गरेको छ ।