अब नोट बाहेकका सबै छपाइका काम नेपालमैः सञ्चारमन्त्री

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १७:३० मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन ।

आज (बुधबार) गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको जानकारी दिएका छन ।

जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनले बताए । उनले पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने पनि उनले बताए । उनले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यान पावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ ।

अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।’ मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताए । बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने पनि बताएका छन । उनले भने, ‘यो वर्षभित्र मन्त्रालयलाई धेरै कुरामा दुरुस्त बनाउँदै छौँ ।

चलचित्र विकास बोर्डको पूरानो ऐन थियो त्यसलाई हामीले दर्ता भइसक्या छ, त्यो पास हुन्छ । त्यसको यही वर्षदेखि बिल्डिङ बनाउने काम सुरु हुन्छ, आफ्नै स्टुडियो भवन हुन्छ,’ गुरुङले भने, ‘त्यसले चलचित्र विकासको क्षेत्रमा भएको अरु धेरै विकृतिहरुलाई हटाउँदै लगेका छौँ हामीले । र ठूलो राजश्व आर्जन गर्ने ठाउँमा पुगेका छौँ र इन्डस्ट्रिजलाई डेभलप गर्ने कुरामा हाम्रो मन्त्रालय अघि बढेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us