
काठमाण्डू, २४ वैशाख– सत्ता घटक दल एमालेले पूर्वमन्त्री तथा ताप्लेजुङ जिल्ला कमिटीका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङको जिम्मेवारी खोसेको छ । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका साम्सोहाङ दश बुँदे पक्षधर हुन् ।
उनी एमाले सचिव योगेश भट्टराईसँग निकट मानिन्छन् । साम्सोहाङसँगै युवा नेता मणि पोमुको पनि जिम्मेवारी खोसिएको छ ।दुई नेतामाथि युवा संघको जिल्ला अधिवेशन स्थलमा तोडफोड र हातपात गरेको आरोप छ ।
गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै साम्सोहाङ पक्षले तोफोड गरेको थियो । दुई पक्षबीच हातपात पनि भएको थियो ।
साम्सोहालको निर्देशनमा पोमुको समूहले बन्दसत्र हलभित्र हातपात गरेको आरोप छ । ताप्लेजुङ जिल्ला कमिटी र युवा संघले गरेको उजुरीका आधारमा प्रदेश कमिटीले दुई नेतालाई निलम्बन गरेर छानबिन सुरु गरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन ।
उनका अनुसार छानविनका लागि प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको नेतृत्वमा समिति गठन भएको छ । यो समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको छ ।