दाङ, ३० असोज – एकीकृत माओवादी सचिव वर्षमान पुनले कांग्रेस नेता खुमबहादुर खड्का हिन्दु राज्यको माग गर्दै हिड्नु दोहोरो चरित्र भएको बताएका छन् ।
यसअघि खुमबहादुरको समेत समर्थनमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि अहिले नेपाललाई हिन्दू राष्ट्र नै बनाउने अभियानमा लागेर दोहोरो चरित्र देखाएको पुनको आरोप छ ।
‘धर्मनिरपेक्षताको प्रस्ताव गर्ने कांग्रेस नेता खुमबहादुर खड्काले अहिले त्यसको विरुद्ध लागेर द्वैध चरित्र देखाए,’ क्रान्तिकारी पत्रकार संघ दाङले विहीबार घोराहीमा गरेको पत्रकार भेटघाटमा सचिव पुनले भने, ‘सबैले आस्था र स्वतन्त्रताको आधारमा धर्म मान्न पाउनु पर्छ ।’
नयाँ संविधानमा सबै वर्ग र क्षेत्रको स्वामित्व हुनुपर्ने भन्दै सचिव पुनले संसदवादी दल र परिवर्तनकारी पक्षको शक्ति सन्तुलनले नै संविधान बन्नुपर्ने धारणा राखे । पहिचान सहितको अधिकार सम्पन्न संविधान माघ ८ मै नैतिक जिम्मेवारी बोधगरी जारी गर्नुपर्ने उनको भनाई थियो ।
सहमतिको आधारमा १० प्रदेशमा राज्यपुर्नसंरचना गर्नुपर्नेमा उनले जोड दिए ।
प्रमुख दलहरुले संविधानका अन्तरवस्तुमा आ-आफ्नो अडान नछाडेकाले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानका विवादित विषयमा सहमति जुटाउनेमा उनले शंका व्यक्त गरे ।