काठमाण्डू, १५ असार– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग अनुरोध गरेका छन ।
आज (सोमबार) राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस ०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन ।
उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने धारणा समेत व्यक्त गरेका छन ।
संयोजक प्रचण्डले रोपाइँको मुख्य समयमा किसानले सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री प्राप्त गर्ने वातावरण सुनिश्चित सरकारलाई सुझाव समेत दिएका छन ।
उनले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन ।