काठमाण्डू, १५ असार– मेटा कम्पनीले आफ्ना कर्मचारीहरूलाई एआई टुलहरूबाट विस्थापित गर्ने योजनालाई अधि सारेको छ । यसअन्तर्गत कम्पनीले यो वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्रामलगायतका प्लेटफर्ममा आउने धेरैजसो कन्टेन्ट र विज्ञापनहरूको समीक्षा गर्न ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ (एलएलएम) को प्रयोग गर्ने तयारी गरेको छ ।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार मेटाले ‘ह्युमन मोडरेटर’ को सट्टा एआई मोडेलहरू लागु गर्ने आफ्नो योजनालाई अधि सारेको हो । कम्पनीले अहिले नै ५० प्रतिशत कार्यहरू एआई टुलहरूबाट भइरहेको र सन् २०२६ को अन्त्यसम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
यसको अर्थ– अब फेसबुक र इन्स्टाग्राममा पोस्ट तथा विज्ञापनसँग सम्बन्धित लगभग सबै निर्णयहरू एआईले नै गर्नेछ । यो निर्णय हालै इन्स्टाग्राममा भएको एउटा प्राविधिक कमजोरीको बिचमा आएको हो । केही समयअघि एउटा कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले करिब २० हजार इन्स्टाग्राम अकाउन्टहरूमा अनधिकृत पहुँच बनाएका थिए ।
उनीहरूले मेटाको ‘एआई सपोर्ट बोट’ लाई झुक्याएर अरूको अकाउन्ट आफ्नो नियन्त्रणमा लिएका थिए । यसका लागि कुनै कोडिङ वा प्राविधिक ज्ञानको आवश्यकता परेको थिएन। अकाउन्ट चोरहरूले केवल मेटाको एआई सपोर्ट सिस्टमलाई ‘अकाउन्ट भेरिफिकेसन कोड’ अर्को इमेल ठेगानामा पठाइदिन निर्देशन दिएका थिए ।
मेटाले यो कमजोरीलाई अहिले सुधार गरिसकेको बताएको छ। तर यस घटनाले एआई टुलहरूको एउटा ठुलो संवेदनशीलतालाई स्पष्ट पारेको छ । मानिसहरूले एआईसँग सामान्य भाषामा कुराकानी गर्ने भएकाले र प्रश्नहरू अनगिन्ती तरिकाले सोध्न सक्ने भएकाले यस्ता कमजोरीहरू सधैँ रहिरहने डर हुन्छ ।
एआई मोडेलहरूलाई कुनै विशेष प्रकारको प्रश्न सोध्न प्रतिबन्ध लगाइए पनि फरक तरिकाले सोध्दा तिनले काम गरिदिने समस्या अन्य मोडेलहरूमा पनि देखिएको छ । त्यसैले मेटाले जति धेरै संवेदनशील कामहरू एआई एजेन्टलाई सुम्पिन्छ, प्रयोगकर्ताहरूले तिनलाई झुक्याएर अकाउन्टको पहुँच लिने जोखिम त्यति नै बढ्छ ।
तर पनि मेटाले आफ्ना एआई टुलहरूलाई यस्ता कामहरू दिनु आवश्यक ठानेको छ । कम्पनीले एआई विकासमा अर्बौँ डलर लगानी गरिरहेको छ । उसले भविष्यमा यो प्रविधिलाई अन्य कम्पनीहरूलाई बेचेर उनीहरूको कर्मचारी खर्च घटाउन मद्दत गर्ने व्यावसायिक लक्ष्य राखेको छ ।