
काठमाण्डु, ३० असोज– अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी मालिया र पाकिस्तानकी शैक्षिक अभियन्ता मलाला युसुफजाईलाई टाइम पत्रिकाले संसारका १६ प्रभावशाली टिनएजर्सको सूचीमा राखेको छ ।
सूचीको पहिलो नम्बरमा न्युजील्यान्डका १७ वर्षीय पपस्टार लर्ड छन् भने दोस्रो नम्बरमा सोही देशकी गोल्फर्ड लाइडिया छिन् । ओवामाकी १५ वर्षीया छोरी निनियस मालिया ओवामा सूचीको १० औं स्थानमा छिन् ।
टाइम पत्रिकाका अनुसार मालिया र उनकी बहिनी हाइप्रफाइल कार्यक्रममा निकै वयस्क ढंगले प्रस्तुत हुन्छन् । यी कार्यक्रमहरुमध्ये उनका पिता दोस्रोपटक राष्ट्रपति भएपछि दिइएको पहिलो भाषण समापनपछि ओवामाले आफ्नो भाषणमा धेरैपटक आफ्ना छोरीहरु उल्लेख गर्दै आफ्नी छोरीहरुकै कारणले समलिंगी विवाहप्रति आफ्नो धारणा परिवर्तन आएको बताएका थिए ।
यस्तै साहसिक किशोरी मलाला यो सूचीको सातौं नम्बरमा छिन् । पाकिस्तानमा किशोरी शिक्षाका लागि अभियान चलाएकी उनलाई तालिवानले निशाना बनाएको थियो । तालिवान उग्रवादीले गत वर्ष घर फर्किरहेकी उनको टाउकोमा गोली प्रहार गरेको थियो । बेलायतमा लामो उपचारपछि उनी बाँचेकी हुन् ।