
काठमाण्डू, १४ असार– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक व्यक्ति भएकाले राजनीतिमा आउने कुरा स्वाविक भएको बताएका छन् ।
तत्कालीन महासचिव मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा पोखरेलले भण्डारीलाई राजनीतिक व्यक्तिका रुपमा बुझ्न आग्रह गरेका हुन् ।
यद्यपि भण्डारी राजनीतिमा आउने कि नआउने भन्नेबारे उनैले भन्ने पोखरेलको भनाइ थियो ।
‘पूर्वराष्ट्रपति राजनीतमा आउने कि नआउने भन्ने कुरा होइन । उहाँ दललाई नै प्रतिनिधत्व गरेर राष्ट्रपति हुनुभएको हो । भूमिका निर्वाह गरेर आइसक्नुभएको छ । उहाँ ‘पोलिटिकल’ मान्छे हो । ‘पोलिटिक्स’ मा रुची राख्नु हुन्छ’, उनले भने, ‘पूर्वराष्ट्रपति पनि ‘पोलिटिकल’ मान्छे हो । ‘पोलिटिक्स’ मा रुची राख्नु उहाँको धर्म हो । उहाँ जहाँ जन्मिनुभयो हुर्किनुभयो, त्यसप्रति विस्मृतिमा फर्कन कसरी मिल्छ ? उहाँले राजनीतिमा चासो राखेको विषयलाई लिएर तातो तावामा उफ्रिएजस्तो किन गर्ने ?’ ।
उनले भण्डारी राजनीतिमा आउने सम्भावना औंल्याउँदा के जिम्मेवारी लिने भन्नेबारे अध्यक्ष केपी ओलीसहित आफू नेताहरु बसेर छलफल गर्ने बताए ।
‘के गर्ने कसो गर्ने, के जिम्मेवारी लिने भन्ने त अध्यज्यूसँग, हामीसँग सल्लाह हुन्छ । हामी बसेर छलफल गर्छौं । के जिम्मेवारी लिने भन्ने समझदारीले हुन्छ’, पोखरेलले भने ।