काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ मा गएराति करिब ११:४५ बजे स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पाको मृत्यु भएको हो ।
दुर्घटनापछि उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको उनको राति करिब १२:४५ बजे उपचारकै क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।
यस्तै, ललितपुरको चापागाउँमा भएको अर्को सवारी दुर्घटनामा पनि चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा नौ वटा सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा १४ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
दुर्घटनाका कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।