लमजुङ- सिँचाइ कुलो भत्किएपछि आएको पहिरोले लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा धन्सार घर पुरिँदा बुबा–छोरीको मृत्यु भएको छ ।
घटनामा परिवारका अन्य दुई सदस्य घाइते भएका छन् ।
मंगलबार बिहान करिब २:३० बजे आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले धन्सार घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पहिरोमा पुरिएर ५१ वर्षीय टिकाबहादुर बिक र उनकी १५ वर्षीया छोरी बिनिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया बिक र १६ वर्षीया जेठी छोरी अस्मिता बिक घाइते भएका छन् ।
उनीहरूको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।