अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाण्डु टुडे २०८३ साउन ११ गते २२:१३ मा प्रकाशित

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाले तनाव उत्पन्न भइरहेका बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिकलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न तथा सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

सोमबार जारी विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र उत्तेजनात्मक सामग्रीले अवस्था थप जटिल बनाउन सक्ने भन्दै तथ्यमा आधारित सूचना मात्रै विश्वास गर्न सबैसँग अनुरोध गरेका छन् ।

‘सदियौँदेखि नेपाली समाज जाति, भाषा, धर्म र संस्कृतिको विविधतालाई सम्मान गर्दै एकताबद्ध रहँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख गर्दै उनले घटनालाई साम्प्रदायिक वा सामाजिक द्वन्द्वतर्फ मोड्ने कुनै पनि प्रयासबाट टाढा रहन राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको उल्लेख गर्दै आवश्यक समन्वय र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

साथै नेपाल सरकारसँग प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राखी नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us