
Dr. Govinda K.C., who is on a hunger strike, lies on a hospital bed at Teaching Hospital in Kathmandu, Nepal, Wednesday, April 1, 2015. Thousands of doctors in Nepal have stayed away from their work at clinics and hospitals to support the doctor who has been on a hunger strike for the past 10 days demanding reforms in medical education and services. (AP Photo/Niranjan Shrestha)
धनगढी- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै धनगढीमा अनशनरत डा. गोविन्द केसीले सरकारसँग ७ बुँदे सहमति भएपछि आफ्नो अनशन तोडेका छन् ।
बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।
त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल नेतृत्वको सरकारी वार्ता टोली अस्पताल पुगेर केसी पक्षसँग छलफल गरेको थियो ।
सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाललगायत अधिकारी पनि वार्तामा सहभागी थिए ।
दुवै पक्षबीच ७ बुँदे सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन् ।
उनले गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोडे ।
धामी सेती प्रादेशिक अस्पतालमा उपचाररत ८ वर्षीय सुदिप कोइरालाका भिनाजु हुन्।
सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने प्रक्रिया तीव्र बनाइने, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी शिक्षण अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनको तयारी अघि बढाइने भएको छ ।
यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्मअनुसार चिकित्सा शिक्षालाई गैरनाफामुखी र व्यवस्थित बनाउने, चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित विषयमा आवश्यक सुधार गर्ने, छात्रवृत्ति व्यवस्थालाई प्रभावकारी बनाउने, मापदण्डविपरीत सञ्चालन भएका मेडिकल कलेजको अनुगमन र नियमन कडाइका साथ गर्ने तथा यसअघि सरकार र डा. केसीबीच भएका सहमतिहरू कार्यान्वयनलाई निरन्तरता दिने विषय पनि सहमतिमा समेटिएका छन् ।
सहमतिपछि डा. केसीले अनशन अन्त्य गरेसँगै धनगढीमा जारी उनको आन्दोलन पनि स्थगित भएको छ ।