देशभरका डाक्टर आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

काठमाण्डु टुडे २०८३ साउन १२ गते ८:१३ मा प्रकाशित

काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा डाक्टरहरूले आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेका छन् ।

आन्दोलनका कारण ओपिडीलगायत नियमित उपचार सेवा प्रभावित हुने भएका छन् ।

संघले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीका आफन्तले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरी अस्पतालमा तोडफोड गरेको घटनालाई लिएर दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आएको छ ।

उक्त आक्रमणमा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको तथा अन्य चिकित्सक र स्वास्थ्यकर्मीसमेत घाइते भएको संघले जनाएको छ ।

घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारबाही गर्नुपर्ने संघको माग छ ।

संघका अनुसार घटनाबारे छलफल गर्न पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमै प्रहरी परिचालन गरिएको थियो ।

त्यसक्रममा पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकले नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्षसहित आन्दोलनरत चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप संघले लगाएको छ ।

चिकित्सकमाथिको आक्रमण र त्यसपछिको व्यवहारले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको भन्दै संघले घटनामा संलग्न व्यक्तिहरूसँगै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि छानबिन गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ ।

संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाएको छ ।

आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सेवा बन्दका कारण बिरामी र सेवाग्राहीमा पर्न गएको असुविधाप्रति संघले क्षमायाचना गर्दै आन्दोलन बाध्यात्मक परिस्थितिका कारण गर्नुपरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us