सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साम्प्रदायिक तनावपछि लगाइएको अनिश्चितकालीन कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ ।
सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
घटना आइतबार राति बोलबम यात्रामा सहभागी भक्तजनले डिजेमा ठूलो आवाजमा संगीत बजाउँदै यात्रा गरिरहेका बेला सुरु भएको थियो ।
अर्को समुदायले त्यसमा आपत्ति जनाएपछि सुरु भएको भनाभन झडपमा परिणत भएको थियो ।
दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
स्थिति थप तनावग्रस्त बनेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसहित २० भन्दा बढी व्यक्ति घाइते भएका थिए, जसमा एक जना प्रदर्शनकारीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज, हरिनगरलगायत पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको थियो ।
सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रशासनले अहिले अवस्था नियन्त्रणमा आएकाले कर्फ्यु हटाएको जनाएको छ ।
यद्यपि प्रभावित क्षेत्रमा सुरक्षा निगरानी भने यथावत् राखिएको छ । घटनाबारे छानबिन जारी छ ।