काठमाडौं- देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले मंगलबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ ।
विशेष गरी बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल औसत अवस्थामै रहेकाले देशभर यसको प्रभाव कायम छ ।
अहिले हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहेको छ ।
महाशाखाले दिउँसो पहाडी भूभागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी र मधेसका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि हिमाल र पहाडमा बदली कायम रहने तथा केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।