तमोर करिडोरमा दुर्घटनाग्रस्त ट्रकमा आगलागी, एक जनाको जलेर मृत्यु

काठमाण्डु टुडे २०८३ साउन १२ गते ८:१८ मा प्रकाशित

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोरमा हाइड्रोपावर आयोजनाका सामग्री बोकेको ट्रक दुर्घटनाग्रस्त भएपछि आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

आगोमा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले बताए ।

मृतकको पहिचान अझै खुल्न सकेको छैन । उनी ट्रक चालक नै हुन् वा अन्य व्यक्ति भन्ने विषयमा पनि प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी फलामेटारबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट एसपी रञ्जितकारको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us