काठमाण्डु– काँग्रेसको शेरबहादुर देउवा समूहले पार्टी एकताका लागि भन्दै ५ बुँदे प्रस्ताव अघि सारेको छ ।
सो समूहले आइतबार संस्थापन पक्षसँग एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेको हो ।
त्यसअघि हाल देउवा समूहको नेतृत्व गरिरहेका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा सो पक्षका निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश समिति सभापति र जिल्ला सभापतिसहितको बैठक बसेको थियो ।
बैठकले संस्थापन पक्षले भ्रमपूर्ण प्रचार गरेकाले त्यसलाई चिर्न आफूहरुका तर्फबाट एकताको प्रस्ताव अघि सारिएको निर्णय गरेको छ ।
बैठकपछि नेता मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा पार्टी एकताको विषयलाई लिएर संस्थापनले दिनहुँजसो नयाँ र मान्नै नसकिने प्रस्ताव अघि सारेर एकतालाई असहज बनाएको उल्लेख छ ।
विज्ञप्तिमा उनले संस्थापन पक्षबाट चलाइएका बजार हल्लाहरू निराधार, मिथ्या र भ्रामक रहेको बताए ।
उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यबाहक सभापति खड्कार्लाइ पठाएका प्रस्तावबारे आफूहरुले अधिकतम सहमति गर्न सकिने प्रस्तावहरू सहित जवाफ पठाएको उल्लेख गरे ।
‘पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेर एकतालाई असहज बनाए भनि चलाएका बजार हल्लाहरू निराधार, मिथ्या र भ्रामक छन्,’ विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यबाहक सभापतिलाई पठाएका प्रस्तावहरू माथि नै हामीले २०८३ जेष्ठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति गर्न सकिने किसिमका प्रस्तावहरू सहित जवाफ पनि दिएका हौं ।’
यस्ता छन् देउवा समूहका ५ पस्ताव
१.चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
२. सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।
३. पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
४. वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।
५. महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा स्वतस् सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनस् नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।