काठमाण्डू, ३२ असार– रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन ।
रुपन्देहीको भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा बुटवल उउपमहानगरपालिका–३ का ३० वर्षीय माइक्रोबसका सहचालक सन्दीप बरालको मृत्यु जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बरालको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका– ८ का ५० वर्षीया कृष्णकुमारी बेलबासे, ३४ वर्षीया श्रद्धा जोशी, शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवा का २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका ९७ बडवलिया की ५५ वर्षीया शाहाबुन निसा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा र नवलपरासीको सुनवल नगरपालिका–६ की ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि फरार भएका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर का ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि रुपन्देही प्रहरीले जनाएको छ ।