मिडिया कार्यालय अगाडि अवैध पार्किङको विषय कालो अक्षरले लेखिने छः ज्ञानबहादु शाही

काठमाण्डु टुडे २०८३ असार ३० गते १२:४८ मा प्रकाशित

काठमाण्डू, ३० असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादु शाहीले सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गरेको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शाहीले मिडिया र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा पार्किङ गराउने, त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउने र ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने काम भइरहेको पनि बताएका छन ।

उनले भने, ‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ ।’ शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको भन्ने आरोप लगाइएको बताए ।

साथै उनले राजनीतिकरण भनेको केहो भन्ने उदाहरणसहित सुनाएका छन । उनले भने, ‘आफैं सरकारमा बस्ने, आफैं आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ ।’

उने भने, ‘पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन,’ उनले भने । शाहीले थप भने, ‘संसद भवन चाहिँदैन, संसद चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ ।

आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अगाडि–पछाडि टाइँटाइँ र टुइँटुइँ गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर र प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us