अब केही बोलौं भने घरमा गाडी तेर्स्याउन आउने डर भयोः वर्षमान पुन

काठमाण्डु टुडे २०८३ असार ३० गते १४:४० मा प्रकाशित

काठमाण्डू, ३० असार– पूर्व मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा बोल्दासमेत घरमा गाडी तेर्स्याउन आउने हुन कि भन्ने डर उत्पन्न भएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन ।

आज (मंगलबार) बसेको लेखा समितिको बैठकमा पासपोर्ट ठेक्का विवादबारे बोल्दै नेकपाका नेता पुनले यस्तो बताएका हुन् । नेता पुनले भने, ‘जनताले उठाएको विषय बोल्नुपर्ने हुन्छ, त्यसक्रममा संविधानका मर्यादा र कार्यक्षेत्र पनि हेर्नुपर्ने हुन्छ, त्यसो नगरे लोकतान्त्रिक संस्था मजबुत हुँदैनन् ।’

उनले सोही विषयमा बोलेबापत घरमा गाडी तेर्सिन आउने हुन् कि भन्दै व्यङ्ग्य गरे । यसले लोकतन्त्र सीमित हुँदै आएको उनले बताए ।

उनले यो विषय आज कसलाई पर्‍यो भन्दा पनि यो प्रवृत्ति मौलाउने विषय सबैभन्दा डरलाग्दो विषय भएको पनि बताएका छन ।

लोकतन्त्रमा बोल्ने कुरा, स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने विषय सुनिश्चित गर्नुपर्ने उनले बताएका छन । पावरका कुरा सधैं एउटैसँग नहुने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us