इटहरी- सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
गएराति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ गइरहेको बा १ ञ १६५१ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका भ्यानमा सवार धरान उपमहानगरपालिका–२० निवासी ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको देखिएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।