सुधन गुरुङलाई ज्ञानबाहादुर शाहीको प्रश्नः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

काठमाण्डु टुडे २०८३ असार २६ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, २६ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले यस्तो बताएका हुन ।

संसदमा बोल्दै सांसद शाहीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा स्टन्ट देखाएको भन्दै आपत्ति प्रकट गरे । शाहीले गृहमन्त्री हिजो एयरपोर्टमा क्यामेरा लिएर दौडिएको समेत बताए ।

उनले भने,‘गृहमन्त्रीज्यू तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो ।’ उनले गृहमन्त्रीको आदेशले जनता बाँच्यो कि बाँचेन भन्ने मुख्य कुरा भएको बताए ।

उनले मन्त्रीहरूलाई सडकमा चटक नदेखाउन आग्रह गरे । ‘गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु,’ उनले भने । पछिल्लो समय काठमाण्डूमा गरिब र श्रमजीवी वर्गलाई बाँच्न गाह्रो भएको उनले बताए । ‘सरकार अर्बपतिलाई चाहिएको होइन, सरकार त निमुखा र अपहेलितहरूलाई चाहिएको हो ।

तर आज सरकारका ऐन, नियम र निर्णयहरू केवल हुनेखानेकै पक्षमा केन्द्रित छन्,’ उनले भने । गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाह गरेको उनको भनाइ छ । सांसद शाहीले यसलाई राज्यको नीतिले गराएको हत्याको संज्ञा दिए । ‘१० हजार जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने रु यो कस्तो न्याय हो ?’ शाहीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us