काठमाण्डू, २६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको घटनालाई केवल ‘शोकको औपचारिकता’ मा मात्र सीमित नगर्न संसद्को ध्यानाकर्षण गराएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद कार्कीले यस्तो बताएका हुन ।
उनले सदनमा धेरै सदस्यहरूले नाम समेत स्पष्ट नभई श्रद्धाञ्जली दिइरहेको भन्दै यसलाई ओठे भक्ति मात्र नबनाउन आग्रह गरेका छन । सांसद कार्कीले गणेश नेपालीको घटनालाई थप दुखान्त र भावनात्मक बनाउने होडबाजी चलिरहेको बताउँदै भने, ‘१० हजार जरिवानाका कारण आत्मदाह गरेको भन्ने कुरा भ्रम हो कि सत्य, त्यसको खोजी हुनुपर्छ ।
हामीले भावनात्मक तर्क गरेर मात्र हुँदैन, मान्छेको जीवनभन्दा ठुलो तर्क अर्को केही हुन सक्दैन ।’ नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने र झन्डै ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्याङ्क प्रस्तुत गर्दै कार्कीले यसमा कानुन र राज्यको भूमिका खोज्नुपर्ने बताए ।
‘दैनिक १८ जनाले ज्यान फाल्छन्, यसको कारण सामाजिक, मनोवैज्ञानिक वा आर्थिक के हो रु राज्यले यसबारे कहिले गम्भीर छलफल गर्ने ?’ कार्कीले प्रश्न गरे । सांसद कार्कीले कानुन बनाउने थलो संसद् नै भएको स्मरण गराउँदै गणेश नेपाली जस्ता युवाहरूलाई मृत्युको मुखमा पुग्नबाट रोक्न कस्तो कानुन बनाइयो भनी प्रश्न गरे ।