ऐन महरले संसद्मै लगाए ‘सरकार मुर्दावाद’को नारा

काठमाण्डु टुडे २०८३ असार २६ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, २६ असार– प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका छन् ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महरले संसद्मै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन । सांसद महरले वर्तमान सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको आरोप समेत लगाएका छन ।

गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप समेत लगाए । ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्याएको छ,’ महरले भने, ‘सुकुमबासी हुन् वा गणेश नेपाली, नागरिकहरूलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ ।

यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।’सांसद महरले निरंकुश राणा शासनको अन्त्यका लागि योगमाया न्यौपानेले जल समाधि लिएको इतिहास स्मरण गराउँदै गणेश नेपालीको आत्मदाहले यो सरकारको पनि अन्त्य सुनिश्चित गर्ने दाबी गरे ।

‘योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठुलो मूल्य चुकाउनुपर्नेछ । यो हत्याको जिम्मेवार यो सरकार नै हो,’ महरले भने । आफ्नो सम्बोधनको अन्त्यमा सांसद महरले सरकार जनताको पक्षमा नभई जनता मार्ने खेलमा लागेको भन्दै आक्रोशित मुद्रामा नाराबाजी गरे । उनले ‘यो सरकार मुर्दावाद’ भन्दै आफ्नो भनाइ टुङ्ग्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us