डोल्पामा भेटिएको शव २४ घण्टापछि निकालियो

काठमाण्डु टुडे २०८३ असार १५ गते १३:०३ मा प्रकाशित

काठमाण्डू, १५ असार– बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

तर, शव खोलाको गहिरो खोल्साभित्र अड्किएको, भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथा खोलाको बहाव बढेकाले आइतबार दिनभर प्रयास गर्दा पनि उद्धार हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार सोमबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुनः उद्धार अभियान सञ्चालन गरी शव सुरक्षित रूपमा निकालिएको हो ।

प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘आइतबार दिनभर प्रयास गर्दा पनि शव निकाल्न सफल हुन सकेनौं। शव खोलाको गहिरो खोल्साभित्र अड्किएको र खोलाको बहाव तीव्र भएकाले उद्धार निकै चुनौतीपूर्ण थियो। सोमबार सशस्त्र प्रहरी बलको टोली सहित प्रहरीले उच्च जोखिम मोलेर शव बाहिर निकालेको हो ।’

शव सुर्खेतको बराहताल गाउँपालिका–६ स्थायी घर भई हाल शे९फोक्सुण्डो गाउँपालिका–८ रिग्मोमा कामका सिलसिलामा बस्दै आएका ३८ वर्षीय विष्णु विक भनेर चिनिने मंगले कामीको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । उनी गत असार ६ गते रिग्मो गाउँबाट बेपत्ता भएका थिए ।

सोमबार उद्धार गरिएको शव उनकी पत्नीले सनाखत गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us