काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन समापन गर्दै सभापति रवि लामिछानेले अब आफू र पार्टीलाई अपरिपक्व हुने कुनै छुट नरहेको बताएका छन् ।
पद तथा गोपनीयताको शपथपछि सम्बोधन गर्दै उनले विगतमा आफूलाई लागेको अपरिपक्वताको आरोप स्वीकार गर्दै बदलिएको परिस्थितिले थप जिम्मेवार र परिपक्व बन्न बाध्य बनाएको बताए ।
उनले देश र जनताको ठूलो आशा र भरोसाले आफ्नो काँधमा थप जिम्मेवारी आएको उल्लेख गर्दै अब अध्ययनबिनै अभिव्यक्ति दिने छुट नरहेको स्पष्ट पारे ।
सांसद र नेताहरूलाई लक्षित गर्दै उनले सानो अभिव्यक्तिले पनि ठूलो विवाद निम्त्याउन सक्ने भएकाले बोल्दा संयम अपनाउन निर्देशन दिए ।
पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिँदै लामिछानेले निर्वाचनको प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया मान्न आग्रह गरे ।
कसैले गुट वा फुटको राजनीति गर्न खोजे त्यसलाई जरैदेखि उखाल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रित विभिन्न राजनीतिक दलका अतिथिहरू असन्तुष्ट बनेको घटनाप्रति उनले सार्वजनिक रूपमा क्षमा मागे ।
कुनै नियतवश त्यस्तो अवस्था सिर्जना नभएको स्पष्ट पार्दै आगामी दिनमा सबै राजनीतिक शक्ति र व्यक्तित्वको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लामिछानेले रास्वपाले नेपालको वैदेशिक नीतिलाई ‘विकास कूटनीति’ केन्द्रित बनाउने रणनीति लिएको दाबी गर्दै राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राखेर सबै देशसँग सहकार्य गर्ने नीति अवलम्बन गरिने बताए ।
रास्वपाको महाधिवेशनले रवि लामिछानेलाई सभापति र स्वर्णिम वाग्लेलाई उपसभापतिमा निर्विरोध चयन गरेको थियो भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मतदानमार्फत निर्वाचित भएका छन् ।
दुई दिनमा सक्ने योजना रहेको निर्वाचन प्रक्रिया व्यवस्थापकीय अव्यवस्थाका कारण ६ दिनसम्म लम्बिएपछि शुक्रबार महाधिवेशन औपचारिक रूपमा सम्पन्न भएको हो ।