गुटबन्दी र टिके प्रथा रोक्न चुनाव लडें: मनीष झा

काठमाण्डु टुडे २०८३ असार १२ गते २२:४५ मा प्रकाशित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा पराजित  नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र टिके प्रथा मौलाउन नदिन आफूले चुनावी प्रतिस्पर्धा रोजेको बताएका छन् ।
महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि सामाजिक सञ्जालमार्फत झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका छन् ।

‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो । रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एउटा प्रयास थियो । नेतृत्वले मेरो त्यो प्रयासलाई स्वीकार गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुभयो, त्यसका लागि आभारी छु,’ उनले लेखेका छन् ।

झाले आफ्नो उम्मेदवारी पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउनका लागि रहेको स्पष्ट पार्दै नवनिर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन् ।

उनले परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै पार्टी र महामन्त्री आचार्यलाई आफ्नो अनुभव र क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि रास्वपाको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका झाले अबदेखि आफू केवल केन्द्रीय सदस्य र सांसदका रूपमा मात्रै सक्रिय रहने जानकारी दिएका छन् ।

रास्वपाको महामन्त्री पदका लागि विपिन आचार्य, मनीष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा सभापति रवि लामिछाने निकट मानिएका विपिन आचार्य विजयी भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us