काठमाण्डू, १० असार– गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीम किरण बोगटीले जानकारी दिएका छन । कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइते महिलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो। उपचारकै क्रममा आज बिहान चिकित्सकले मुना कुमाललाई मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा यमबहादुरले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीमाथि कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ ।