रास्वपा निर्वाचनका लागि ८० भोटिङ मेसिन स्ट्यान्ड बाइ, उम्मेदवारको सूची नआउँदा ढिलाइ

काठमाण्डु टुडे २०८३ असार १० गते १५:०१ मा प्रकाशित

काठमाण्डू, १० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोटिङ मेसिन तयारी अवस्थामा राखिएकोमा अहिलेसम्म उम्मेदवारको सूची प्राप्त नभएको प्राविधिकहरूले बताएका छन् ।

रास्वपाले विद्युतीय मतदानका लागि २५ लाख रूपैयाँ खर्चिएर राम–लक्ष्मण भोटिङ मेसिन कम्पनीसँग सम्झौता गरेको छ । जसअनुसार मतदानस्थलमा ८० वटा मेसिनसहित प्राविधिक तयारी अवस्थामा छन् ।

निर्वाचन आयोगले हिजो राति ११ बजेदेखि नै उम्मेदवारको नामावली दिने बताएकोमा अहिलेसम्म प्रारम्भिक नामावलीसमेत प्राप्त नभएको उनीहरूको भनाइ छ । ई–भोटिङका प्राविधिक प्रमुख रामप्रसाद रिमालले नेपाल प्रेससँग भने, ‘गएराति ११ बजे नै हामी डाटा दिन्छौँ भन्नुभएको थियो ।

अहिलेसम्म पाएका छैनौँ ।’ निर्वाचन आयोगले उम्मेदवारको अन्तिम प्रकाशित गरेपछि मेसिनमा अपडेट गर्न ५ घण्टासम्म समय लाग्छ । नामसँगै आयोगले उम्मेदवारको फोटो पनि दिनुपर्छ । प्रतिनिधिले उम्मेदवारको नाम र फोटो दुवै हेरेर भोट हाल्ने छन् ।

फोटो र नाम भेरिफाइ गरेर निर्वाचन आयोगको टीमले स्वीकृत दिएपछि मात्रै मतदानको प्रकृया अघि बढ्छ । त्यसको लागि समय लाग्ने रिमालले जानकारी दिए । भोटिङ प्रकृयाको सबै काम सम्पन्न गर्न १४ घण्टाको समय मागेको बताउँदै उनी भन्छन्, ‘मेसिनमा अनलाइनबाट नभएर अफलाइनबाट नाम इन्ट्री गर्नुपर्ने हुन्छ ।

त्यसो गर्दा एक९एक नाम र फोटो भेरिफाइ गरिदिनुपर्छ । त्यसका लागि हामीलाई ४ देखि ५ घण्टा लाग्छ ।’ अहिले चितवन उद्योग संघको प्रदर्शनी हलमा ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us