काठमाण्डू, ९ असार– अल्जेरियासँग पराजित हुँदै नवप्रवेशी जोर्डन फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरीएको छ ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा आज (मंगलबार) भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । जोर्डनले खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।
तर, अग्रता जोगाउन सकेन । त्यसको ३३ मिनेटपछि अल्जेरियाले बराबरी गोल फर्कायो । ६९ औं मिनेटमा रियाद महरेजको क्रसमा नाधीर बेनबोउलीले गोल गर्दै अल्जेरियालाई बराबरीमा फर्काए ।
८२ औं मिनेटमा अमाइन गौइरीले गोल गर्दे अल्जेरियालाई पहिलो अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अल्जेरिया विजयी भयो । अल्जेरियाले पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राख्दा जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘जे’ मा अल्जेरिया ३ अंक जोड्दै तेस्रो स्थानमा छ । समान ३ अंक जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ । २ खेलबाट ६ अंक जोडेको साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ । पहिलोपटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ ।