८० जना नेता कार्यकर्ता भएका ठाउँबाट पक्राउ परेका थिए एमाले उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८३ असार ९ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, ९ असार– सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सुझाव संकलनका लागि एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका नेताहरु आइतबार सुर्खेत आइपुगेका थिए ।

सोमबार शुभ होटलमा कार्यक्रम चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल आफै बेलुका पाँच बजेतिर पौडेललाई पक्रउ गर्न पुगेका थिए । एसपी पोखरेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा पौडेललाई पक्राउ गरिएको जानकारी दिएका छन ।

उनले भने, ‘उहाँ (पौडेल) सुर्खेतमा रहेको जानकारी पाएर विभागले पक्राउका लागि पत्राचार गरेको थियो, ‘सोही पत्रका आधारमा हामीले पक्राउ गरेका हौं ।’ प्रहरी होटलमा पुग्दा जाजरकोट जिल्लाका कार्यवाहक सभापति विश्वविक्रम शाह निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी धारणा राख्दै थिए ।

उपाध्यक्ष रामहादुर थापा, पौडेलसहित पृथ्वी सुब्बा गुरुङ र महासचिव शंकर पोखरेल डायरीमा फ्लोरबाट आएका सुझावहरु टिप्दै थिए । ‘त्यही बेला एसपीको फोन आयो, उहाँ (पौडेल) र महासचिव पोखरेल सँगसँगै बाहिर निस्कनुभयो,’ सुर्खेत जिल्लाका उपाध्यक्ष मोहन बढुवालले भने, ‘हलबाट होटलको रुपमा जानुभयो अनि डायरी समाएर प्रहरीको गाडीमा बस्नुभयो ।’

बढुवालका अनुसार सुरुमा आफूहरुले एसपी पोखरेल नेताहरुलाई भेट्नका लागि आएको सोचेको बताए । ‘१० जिल्लाका पदाधिकारी, प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यसहित हामीहरु करिव ८० जना हलभित्र थियौं,’ उनले भने, ‘सुरुमा प्रहरी प्रमुख नेताहरुलाई भेट्न आएका होलान् भन्ने लागेको थियो, गिरफ्तार गर्न आएका रहेछन् ।’ प्रहरीले पौडेल पक्राउपछि जारी गरेको विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ पूर्जीसहित पठाइएकाले पक्राउ गरिएको जनाएको छ ।

‘निज हाल सुर्खेत जिल्लामा रहेको भन्ने बुझिन आएकाले संलग्न पक्राउ पूर्जी सम्वन्धीतलाई बुझाई पक्राउ गरी प्रहरी सुरक्षासहित निजलाई विभागमा उपस्थित गराइदिनु हुन सम्पत्ति सुद्धीकरण  (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २१ का आधारमा अनुरोध छ भन्ने व्यहोराको पत्र प्राप्त भएको,’ विज्ञप्तिमा भनिएको छ, ‘विभागबाट प्राप्त पत्रको आधारमा पूर्व अर्थमन्त्रीसमेत रहेका रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका– ९, हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका– २५ सैबु आवास योजनामा बसोबास गर्ने बिष्णुप्रसाद पौडेललाई सुर्खेत जिल्लामा खोजतलास गर्ने क्रममा निजलाई साँझ ६ः १५ बजेको समयमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका– ३ शुभ होटलमा फेला पारी विभागबाट जारी भएको जरुरी पक्राउ पूर्जी दिई पक्राउ परिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us