काठमाण्डू, ९ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको पक्षमा आवाज उठाउँदा वर्तमान सरकारले पञ्चायती व्यवस्थामा भन्दा बढी दमन गर्न थालेको आरोप लगाएका छन ।
निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव लिन सोमबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले अहिलेको समाजलाई आस्थाहीन, मर्यादाहीन र संस्कारहीन बनाउँदै देशमा आतङ्कको राज सिर्जना भइरहेको दाबी गरे । ओलीले भने, ‘गत फागुन २१ गतेको निर्वाचनबाट देशलाई फाँसिवादतिर लैजाने लाइसेन्स उपलब्ध भएको छ, ‘देशको पक्षमा बोल्दा पञ्चायतमा भन्दा बढी दमन भोग्नुपर्ने स्थिति छ, तर फाँसिवादले लामो समय राज गर्न सक्दैन। यो प्रकृति र समाज विकासकै नियम हो।’
एमालेलाई नसिध्याएसम्म देशलाई कमजोर बनाउन सकिन्न भन्ने ठानेर विश्वभरका प्रतिक्रियावादीहरू लागेका कारण पार्टीले निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको ओलीले बताए ।
अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको स्मरण गर्दै आफ्नो पार्टीको आलोचना गर्ने कुनै ठाउँ नरहेको बताए एकपटक एउटा मोर्चामा पराजय व्यहोर्नु परे पनि फेरि जित्ने विश्वास व्यक्त गर्दै उनले पार्टीपङ्तीलाई निराश नहुन अनुरोध समेत गरेका छन ।