‘दाई दाई’ बन्यो विश्वकपकै सर्वकालिन उत्कृष्ट गीत

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत बनेको छ । प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रुपमा उल्लेख गरेको हो ।

आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको बिलबोर्डले जनाएको छ । शकिराकै अघिल्लो बहुचर्चित विश्वकप गीत ‘वाका वाकाः दिस टाइम फर अफ्रिका’ २६.६४ प्रतिशत मत पाउँदै सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।

सन् १९९० देखि अहिलेसम्म विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेका कुल १० विश्वकपका आधिकारिक गीतमध्ये पाठकले मतदान गरेका थिए । फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको गीतलाई समर्थकले सर्वाधिक रुचाएका छन् ।

मे महिनामा संगीतकर्मी शक र बर्ना बोयले संयुक्त रूपमा सार्वजनिक गरेको फिफा विश्वकप २०२६ को आधिकारिक गीतले अफ्रोबिट्स, डान्स–पप, रेगेटोन र विश्व संगीतको मिश्रण प्रस्तुत गर्दै खेलकुदको एकता र उत्साहको सन्देश दिएको छ ।

गीतमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीजस्ता फुटबलका दिग्गज खेलाडीको पनि उल्लेख गरिएको छ । यसैबीच, सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको चर्चित गीत ‘कप अफ लाइफ (ला कोपा दे ला भिडा)’ झन्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ ।

विश्वकपको इतिहासकै सबैभन्दा लोकप्रिय गीतमध्ये एक मानिने यस गीतले रिकी मार्टिनको सांगीतिक यात्रामा महत्वपूर्ण मोड ल्याएको थियो । उक्त गीत बिलबोर्ड हट १०० मा ६०औँ स्थानसम्म पुगेको थियो भने उत्कृष्ट ल्याटिन पप प्रस्तुति विधामा ग्रामी अवार्डसमेत जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us